कोरोना भाइरस विरुद्धको ४० लाख डोज खोप खेर जाँदै

कोरोना भाइरस विरुद्धको ४० लाख डोज खोप खेर जाँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस विरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार ३६० मात्रा र वैशाख १४ गते ५ लाख ५६ हजार ६४० मात्रा खोप नेपाल आएको थियो ।

व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताए। उनले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताए । ‘अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले, अब हामी प्रयोग गर्न सक्दैनौ,’ उनले भने ।

खोपको म्याद यही पुस ७ गतेसम्म मात्र छ । उनले खोप त्यतिकै खेर जान थालेपछि उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको बताए। ‘हामीले दुई पटकसम्म खोप के गर्ने भनेर मन्त्रालयलाई पत्राचार गरिसक्यौँ,’ उनले भने, ‘अब मन्त्रालयले जे गर्न निर्देशन दिन्छ । त्यही गर्दछौं ।’

नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन पठाउन अनुरोध भएको थियो ।

आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताए । ‘कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । तर खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका थिए,’ उनले भने, ‘खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले खोपको प्रयोग गर्न सकेनौँ ।’

त्यतिबेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । डब्लूएचओले प्रयोग नगर्ने भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले खेर जान थालेको खोपबारे अझै निर्णय नभएको बताए । उनले चीन बाहेक अन्य देशमा पठाउन नसके यही खोपलाई ‘डिस्पोजल’ गरिने बताए। अहिलेसम्म नेपालमा ६ करोड ६९ लाख ८३ हजार ६७० मात्रा खोप आइसकेको छ ।

Recent Comments

No comments to show.