राष्ट्रिय गौरवको आयोजनाका रूपमा क्रिकेट रंगशाला बनाइने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा क्रिकेट रंगशाला बनाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन् ।

नेपाल टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम आज वितरण गर्दै उनले क्रिकेट रंगशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा बताए ।

उनले भने, ‘सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ ।  तपाईंहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ । दश वर्षपछि नेपाल टी-२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला ।’

नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताए ।

उनले भने, ‘यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ ।’

खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउनसक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गरे ।

उनले भने, ‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउँदै छौँ, भरतपुर, मुलपानी र कीर्तिपुरको काम पनि शीघ्र अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली खेलप्रेमी जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ ।’

केही कानुनी र प्रक्रियागत समस्याका कारण खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भनिएको पुरस्कार वितरणमा ढिलाई भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार पूर्ण सचेत हुने बताए ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेललाई सरकारले दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए ।

उनले भने, ‘यो सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकामा खुसी छौँ ।’

उनले कीर्तिपुर क्रिकेट रंगशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रक्रिया अगाडि बढाएकामा सरकारलाई कृतज्ञता ज्ञापन गरे ।

उनले भने, ‘सरकारको प्रयासप्रति हामी आभारी छौँ । बाँकी काम पनि चाँडै पूरा हुनेमा विश्वस्त छौँ ।’ 

Recent Comments

No comments to show.