नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू)का कमिस्नर जुता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाइ सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गरे।  

सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाइ सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाइ सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । 

२०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो। तर गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि ईयूको टोली नेपाल अनुगमनमा आएन।

यस वर्ष गत साउन र भदौमा ईयूको हवाई सुरक्षा समितिले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ। अघिल्लो वर्ष नोभेम्बरमा ईयूले प्रकाशन गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनीको हवाई सुरक्षा चासोमै केन्द्रित थियो।

हरेक छ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा समितिले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गरे। भेटमा उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए।

Recent Comments

No comments to show.