दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेंगु संक्रमित वार्ड सञ्चालनमा आएको छ ।
डेंगु संक्रमितको संख्या बढेपछि अस्पतालले छुट्टै डेंगु वार्ड सञ्चालन गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले शुक्लागण्डकी क्षेत्रमा पनि पछिल्ला दिनमा डेंगुबाट संक्रमितको संख्या बढ्दै गएको जानकारी दिए ।
अस्पतालमा हालसम्म सात सय जनाको परीक्षण गर्दा एक सय १७ जनामा डेंगु सङ्क्रमण देखिएको उनले जानकारी दिए ।
यसअगाडि १० शय्याको वार्ड सञ्चालनमा रहेकामा त्यसलाई विस्तार गरी २० शय्या पुर्याइएको छ ।
पचास शय्या क्षमताको सो अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेर अड्किएको जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ क्षेत्रीय समितिले अस्पताललाई डेंगु किट प्रदान गरेको छ । सो किटले दुई सय पाँच जनाको परीक्षण गर्न सकिनेछ ।
प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीको पहलमा उक्त किट अस्पताललाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति चुडामणि खनालले अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका थियो ।
सो अवसरमा क्षेत्रीय सभापति खनालले व्यास नगरपालिकामा डेंगुका बिरामी बढ्दै गएको सन्दर्भमा यस क्षेत्रमा पनि महामारी हुनसक्ने भन्दै पार्टीको पहलमा सहयोग गरिएको जानकारी दिए ।
जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या तीन हजारभन्दा बढी पुगिसकेको छ । जिल्लाका १० वटै स्थानीय तहमा संक्रमितको संख्या दैनिक बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेंगुको ‘हटस्पट’ बनेको छ । दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेंगु सङ्क्रमण पुष्टि हुने गरेको छ ।
उनले भने, ‘डेंगु सङ्क्रमण हुने क्रम बढ्दो छ, डेंगु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमसँगै खोज र नष्ट गर अभियान पनि चलिरहेको छ ।’
डेंगु नियन्त्रणका लागि दैनिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । अधिकारीले भने, ‘खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ, जनचेतनामूलक कार्यक्रम टोल-टोल र विद्यालयसम्म पनि सञ्चालन भइरहेको छ ।’
जिल्लामा अन्य स्थानीय तहमध्ये व्यास नगरपालिकामा बढी सङ्क्रमण फैलिएको छ । कुल संक्रमितमध्ये ८८ प्रतिशत संक्रमित व्यास नगरपालिकाभित्र छन् । त्यसमा पनि बजारका वडा नं १, २, ३ र ४ मा बढी संक्रमित छन् ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो ।
यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन् ।
दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालका अनुसार डेंगुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ ।
पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।
प्रतिक्रिया