काठमाडौं । सामाजिक अभियन्ता ई: को समूह र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ।
नागरिक जवाफदेहिताको मागसहित आन्दोलनमा रहेका अभियन्ता ई:को समूह र महानगरपालिकाबीच दुई बजेदेखि वार्ता मंगलबार वार्ता भएको थियो। करिब तीन घण्टासम्म चलेको छलफलमा कुनै सहमति भने हुन सकेन।
वार्तामा महानगरपालिका र ई:को समूहका पाँच/पाँच जनाको सहभागिता रहेको थियो। महानगरपालिकाको तर्फबाट मेयरको सचिवालयको तर्फबाट दुई जना, दुई जना वडाध्यक्ष, एक जना कानुन विभाग प्रमुखसहित पाँच जना थिए।
त्यसैगरी अभियान्ता ई: को तर्फबाट गोविन्द नारायण तिमिल्सेना, सञ्जय अधिकारी, फुटपाथ व्यवसायीको प्रतिनिधिसहित पाँच जना थिए। वार्तामा मेयर बालेन्द्र शाह र अभियान्ता ई: भने सहभागी भएका थिएनन्।
तर महानगरपालिकाले विभिन्न ४ वटा प्रस्ताव राखेको थियो। जसमा प्रदर्शन अन्त्य गर्ने, फुटपाथ/सार्वजनिक स्थानमा व्यापार गर्ने क्रममा महानगरपालिकाले जफत गरेका सामान फिर्ता गर्ने, फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नका आवश्यक व्यक्ति र स्थान यकिन गर्नका लागि समिति बनाउने र उक्त समितिले दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने, फुतपाथ व्यवसायीका लागि एक साताभित्र स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने प्रस्ताव राखिएको थियो।
तर ई:समूहका प्रतिनिधिले उक्त प्रस्तावमा सहमति जनाएन्। ई:समूहका प्रतिनिधि तयार नभएपछि आजको वार्ता बिना निष्कर्ष टुंगिएको हो।
प्रतिक्रिया