काठमाडौं । सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ। सरकारले कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ। मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उक्त जानकारी दिएका हुन्।
उनले सुगम जिल्लामा ४४ हजार ६८२ क्विन्टल र दुर्गम जिल्लामा १४ हजार ४८२ क्विन्टल चामल मौज्दात रहेको बताए। त्यसैगरी बोलपत्र माध्यमबाट खुला बजारमा प्राप्त चामल ७२ हजार ६८४ क्विन्टल गरी जम्मा १ लाख ३१ हजार ८४९ क्विन्टल चामल मौज्दात रहेको उनले उल्लेख गरे।
त्यसैगरी धान मौज्दात ४ हजार ६३२ क्विन्टल र भारतबाट आयात कोटाअन्तर्गत गहुँ प्राप्त हुने ३४ हजार ३२० क्विन्टल गरी कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मौज्दात रहेको उनले बताए।
मौज्दात खाद्यान्नबाट ३ महिनासम्मको आवश्यकताको परिपूर्ति हुने उहाँले स्पष्ट पारे। उनले भारत सरकारसँग १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी नेपाललाई उपलब्ध गराउन पत्राचार गरिएको र छिटै ती वस्तु पाइने बताए।
उनले ‘रैथानेमा गर्व गरौँ’ कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिमका ७ स्थानीय तहसँग रैथाने बाली खरिदका लागि सम्झौता गरिएको बताए।
हुम्लाका सर्केगाड, अदानचुली र सिमकोट गापाबाट हालसम्म कागुनो १ हजार २६३ केजी, चिनो २ हजार २२३ केजी, फापर १ हजार ९०५ केजी तथा सिमी १ हजार ८८ केजी खरिद गरिएको बताए।
नेपाल आयल निगम लिमिटेडको ६९ हजार १९२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात क्षमता रहेकोमा हाल ५१ हजार ५५७ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको जानकारी गराइएको छ। यसबाट डिजेल ८ दिन, पेट्रोल ५ दिन र हवाइ इन्धन १३ दिनलाई धान्नसक्ने अवस्थामा रहेको सचिव मरासिनीले बताए।
त्यसैगरी खाना पकाउने एलपी ग्याँस निजी क्षेत्रको भण्डारण क्षमताले करिब ७ दिनलाई पुग्ने अवस्था रहेको उनले बताए।
प्रतिक्रिया