हेलो सरकार चौबिसै घण्टा सञ्चालन, डिजिटल माध्यमबाट पनि गुनासो टिपाउन सकिने

हेलो सरकार चौबिसै घण्टा सञ्चालन, डिजिटल माध्यमबाट पनि गुनासो टिपाउन सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर चौबिसै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेलको नेटवर्क बाटसमेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन पनि हुनेछ ।

गुनासोहरू सम्बोधनका निम्ति ‘¥यापिड रेस्पोन्स टिम’समेत गठन गरी कायाएन्वयनमा ल्याइएको मुख्यसचिव डा वैकुण्ठ अर्यालले जानकारी दिए । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिइ समाधान गर्न निर्देशन दिएका छन् । उनले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए ।

‘जनताको गुनासो सुनिएन भन्ने मत पनि छ । यसलाई तीन सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु । मैले हेलो सरकारको निरीक्षण गरेँ । कार्यकक्ष हेरे । त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु,’ प्रधानमन्त्रीले भने ।

‘सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४सै घण्टा सञ्चालन गरिँदैछ । सरकार र जनताबीचका सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु,’ उनले भने ।

सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।

Recent Comments

No comments to show.