काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकलाई बोलाएका छन्।
प्रमुख सचेतकहरूसँगको छलफलका लागि घिमिरेले बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन्।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सहभागी हुनेछन् ।
सदनमा भइरहेको एक महिनादेखिको गतिरोध हटाउने प्रयासका लागि घिमिरेले बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको बैठक आइतबारका दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले करिब एक महिनादेखि अवरोध गर्दै आएको छ। सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद् चल्न नदिएको हो।
सरकार छानबिन समिति नबनाउने र प्रतिपक्षी दल बनाउनै पर्ने अडानमा टसमस हुँदा संसद बैठक चल्न नसकेको हो।
प्रतिक्रिया