पार्टी एक ढिक्का भएको महसुस भएको छ : अध्यक्ष प्रचण्ड

पार्टी एक ढिक्का भएको महसुस भएको छ : अध्यक्ष प्रचण्ड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताए ।

उनले भने, ‘जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ । पार्टी एक ढिक्का भएको महसुस भएको छ, बैठक वाद, विवाद र संवादमा टुंगिएको छ ।’

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै केन्द्रीय समितिको बोल्ने क्रम लगभग सकिएको जानकारी दिए । उनले बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी निर्माणका लागि ठोस योजना ल्याउन सुझाव दिएको बताए ।

शनिबारको बैठकमा ७४ जना केन्द्रीय सदस्यले बोल्नुभएको थियो । उपाध्यक्ष महराले बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीले प्रस्तुत गरेको दस्तावेजको मूलमर्ममा सहमति जनाएको बताए ।

उनले भने, ‘केन्द्रीय सदस्यहरुले सरकारको कामलाई धन्यवाद दिँदै सुशासनको कामलाई अघि बढाउन सुझाव दिए । पार्टी नेतृत्वको विषयमा छलफल भयो तर अध्यक्ष निर्विकल्प हुनुहुन्छ भन्नेमा सबैको मत रह्यो ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य रेखा शर्माले सरकारले सुरु गरेको भ्रष्टाचारविरूद्धको अभियानमा पार्टीले आफ्ना पदाधिकारीलाई बचाउने काम नगरेको स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्रीले घरकै मान्छे परे पनि छाड्दिन भनिसक्नुभएको छ, मिडियामा आएका आधारमा सबै व्यक्ति छानबिनको घेरामा आइहाल्छ भन्ने हुँदैन । हामीसँग राजस्व अनुसन्धान विभागलगायतका विभिन्न निकायहरु छन्, उनीहरुले आवश्यक छानबिन गरिरहेका छन् ।’

उनले माओवादी केन्द्रका पदाधिकारीहरुको नाम मुछिएको विषयमा सम्बन्धित व्यक्ति छानबिन गर्न तथा दोषी ठहर भए सजाय भोग्न तयार रहेको भन्दै उनले यसमा कुनै समस्या नभएको स्पष्ट पारे ।

आजको बैठकमा छलफल भएका विषयमा जानकारी दिँदै उनले केन्द्रीय सदस्यहरूले सुशासनको पक्ष र विकृति विसंगतिविरुद्धको सरकारले काम गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको बताए ।

उनले बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी निर्माणको महाअभियानमा सबै ठोस जिम्मेवारीका साथ लक्ष्य किटान गरी अघि बढ्न पनि सुझाव दिएको बताए ।

उनले सोही सुझावलाई मध्यनजर गर्दै भोलि बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने जानकारी दिए । भोलिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Recent Comments

No comments to show.