धरानमा डेंगु नियन्त्रण गर्न विद्यालय बन्द

धरानमा डेंगु नियन्त्रण गर्न विद्यालय बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी  । धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट निर्णय गरी विद्यालय बन्द गरिएको हो।

विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले बताए। डेंगु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फूल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए। 

उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडा र टोलटोलमा खटिन अनुरोध गरेको छ।

वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए।

धरानमा डेंगुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ। निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा बिरामीले शय्या पाउन मुश्किल भएको छ । 

साउन १५ गतेसम्ममा चार हजार २१८ जनाको जाँच गर्दा दुई हजार ४९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

Recent Comments

No comments to show.