विराटनगर । कटुवा पेस्तोलसहित प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।
पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई मंगलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा साँझ ५:१५ बजेतिर उनको घरमा प्रहरीले छापा हानेको थियो।
घरको कोठाको र्याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको भण्डारीले बताए। उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए।
पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया