दुई वटा सिम चलाएको निहुँमा विहे गरेको एक महिनामै श्रीमतीको हत्या

दुई वटा सिम चलाएको निहुँमा विहे गरेको एक महिनामै श्रीमतीको हत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मंगलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विष्ट उपर जिल्ला अदालत तनहुँबाट बुधबार पाँच दिनको म्याद थप गरिएको छ ।

विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहान डाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए । उपरीक्षक विष्टले भने, ‘जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैले बोकेर चिहान डाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।’

निजहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो। पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक विष्टले भने, ‘शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्नेछ।’ मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदनमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए ।

निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो ।

Recent Comments

No comments to show.