झापामा भेटिए ३६ जातका रैथाने धान

झापामा भेटिए ३६ जातका रैथाने धान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ।

झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो।

लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय किसानले परम्परागत रुपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताए। 

फेला परेका धानका जातलाई संरक्षणका लागि स्थानीय सामुदायिक बीउ बैंकमा भण्डारण गरिएको र किसानलाई यी धानको खेती गर्न प्रोत्साहित गरिएको जानकारी उनले दिए।

कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले लि–बर्डद्वारा धानको रैथाने जातको विषयमा गरिएको खोज महत्वपूर्ण रहेको बताए। उनले अधिकांश रैथाने धान लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको जानकारीसमेत दिए।

‘झापाको कृषि ज्ञान केन्द्रमा लामो समय कार्यरत रहँदा मैले पनि धानको रैथाने जातको बारेमा अध्ययन गरेको थिएँ,’ पाँचथर कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले भने, ‘लि–बर्डले गहन रुपमा खोज गरेर रैथाने धानको संरक्षणमा पुर्‍याएको योगदान अतुलनीय छ।’

झापामा ३६ रैथाने धान

शिवगञ्ज क्षेत्रबाट रातो टुँडे बास्मती, कालटुँडे बास्मती, जङ्गली मन्सुली, रुद्राक्ष, कालो नूनिया ठूलो, कालो बास्मती र नाजिर जातको धान फेला परेको छन्।

सोही क्षेत्रबाट कालो नुनिया, बेलगुडी, हाप्सा रातो, हाँडीफोर, छोटी बास्मती, हाप्सा, राँगाधान, रासधान, हंशराज रातो स्थानीय, कालो नुनिया सुधार नं १ र कालो नुनिया सुधार नं १० जातको धान पनि फेला परेको छ।

झापाको उत्तरपूर्वी बाहुनडाँगी क्षेत्रमा किसानले चुल्ठे, भोटाङ्गे, चम्पासरी, चनाचुर, अनदी र धनकुटे जातका रैथाने धानको खेती गर्दै आएको पाइएको छ।

केचना, कोरोबारी, लखनपुर, गौरीगञ्ज, गौरादह, महाभारा, शनिश्चरेलगायतका क्षेत्रमा कतारखेरा, रातो बच्छी, दोसरा, होडबच्छी, ठूलो मनसरा, सेतो बास्मती, लालबच्छी, बिरम्फूल, रातो बास्मती, रातो अनदी र बदल धानको खेती हुने गरेको पाइएको लि–बर्डको प्रतिवेदनमा उल्लेख छ।

झापाबाहेक मोरङ, सुनसरी, दाङ, कैलाली र डोटी जिल्लाका रैथाने २६ जातको धानको बीउसमेत लि–बर्डले खोज तथा संरक्षण गरेको छ।

विदेशी बिउमा बढ्यो निर्भरता

​केही दशक अघिसम्म किसान आफैँले धानको बिउ भण्डारण गरेर राख्ने चलन थियो। परालको नेठी र चोयाको भकारीमा धानका बिउ किसानले राख्थे। सिजन भएपछि त्यही बिउलाई ब्याडमा उमार्ने र धानको बेर्ना रोप्ने चलन थियो।

अहिले त्यो चलनमा ठूलो परिवर्तन आएको छ। भारतीय रञ्जित धानको बिउ नै झापालगायत तराईको अधिकांश क्षेत्रमा रोपिने गरेको छ। जसका लागि किसान स्थानीय एग्रोभेट पसल र बिउ सप्लायर्समा निर्भर हुन्छन्।

Recent Comments

No comments to show.