यू–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

यू–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ।

स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो।

प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र नगद २ लाख प्राप्त गरेको छ। उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित नगद १ लाख प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो।

कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए। सिवांश बजगाईंले अविजित ३० रन, दीपु भुजेलले २१ रन र आशिक मगरले २० रन बनाए। 

बागमतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अथर्व पौडेलले २/२ विकेट लिए।

प्रतिउत्तरमा बागमती प्रदेशले २४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सकेको थियो। उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांश कोइराला र रोशन विकले २३/२३ रन बनाएका थिए। 

कोशीका लागि रबिन मण्डलले ३ विकेट, सौजन घिमिरे र प्रतीक पोखरेलले २/२ विकेट लिए। 

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित कोशी प्रदेशका एलिस मण्डलले नगद २ हजार प्राप्त गरे।

उत्कृष्ट प्रदर्शन गरेका बागमती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए। उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए। उनले सर्वोकृष्ट खेलाडी भएबापत नगद १५ हजार प्राप्त गरे। ४ खेल खेलेका उनले १ सय ६ बलमा १ सय ४६ रन बनाए। १९ ओभर बलिङ गरेका उनले १ मेडनसहित ९४ रन दिएर ४ विकेट लिएका थिए।

कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए। उनले नगद १० हजार प्राप्त गरे। ३ खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै १ मेडनसहित ७२ रन दिएर १० विकेट लिएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यू–१६ टोली तयार गर्न लागिएको जनाइएको छ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ‘इस्ट जोन कप क्रिकेट प्रतियोगिता’लाई मध्यनजर गर्दै यो प्रतियोगिता गरेको हो। 

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।

Recent Comments

No comments to show.