काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।
विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरिरहेको उनले उल्लेख गरे । त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्नेहरूबीच एउटै पार्टी हुने बताए ।
मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिहरूको विकल्प नभएको भन्दै उनले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह गरे ।
उनले नेकपा मसाल, नेकपा संयुक्तलगायत साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे ।
अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिस्ट मात्र भएको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।
यस्तो छ माधव नेपालको भनाइ–
आज पनि कम्युनिस्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ । यो राम्रो पक्ष हो कि नराम्रो पक्ष हो ? मलाई त कहिलेकाहीँ राम्रो पनि लाग्छ । किन राम्रो लाग्छ भने, हिजो म टुँडिखेल गएको थिएँ । टुँडिखेलको फोटो मैले खिँचेको छु । त्यहाँ पनि मान्छेलाई ओइरिएका थिए । रातो झन्डा फहराइरहेका थिए । कम्युनिस्ट पार्टी जिन्दावाद भनिरहेका थिए । मार्क्सवाद लेनिनवादप्रति गौरवबोध गरिरहेका थिए । कमसेकम अलग्गै पार्टी भए पनि जनतामा चेतना जगाउने काम त गर्दै हुनुहुन्छ । कमसेकम बुर्जुवा पार्टी, प्रतिक्रियावादी पार्टीमा त जानु भएन । कम्युनिस्ट पार्टीमै त रहनुभयो । यसरी विभिन्न पार्टीहरू छन । यस्ता पार्टी हुनु राम्रो कुरा पनि हो । तर अर्को कुरा, यो नराम्रो कुरा पनि हो । यो सानोसानो पसल थापेर अनि शक्ति विभाजित गरेर त्यसको फाइदा दक्षिणपन्थी शक्तिहरूले उठाउँछन् । यो दक्षिणपन्थी शक्तिहरूले फाइदा नउठाउन् भन्नका लागि सबै कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिन सक्यो भने, एउटै शक्तिको रूपमा उभिन सक्यो भने, यी पाँचवटा औँलाहरू मुठीको रूपमा आउन सक्ने हो भने यो देशको राजनीतिमा, देशको परिवर्तनको अभियानमा अपरिहार्य रूपमा नेतृत्वदायी भूमिकामा उभिन सक्दछ । जनताले कम्युनिस्ट पार्टीलाई पत्याएका पनि छन् । विश्वास गरेका पनि छन् । पत्याएका पनि छन् । त्यही पत्याएका कारणले हामीले पटकपटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका छौँ । मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूलाई अनुशरण गरेर अघि बढ्नुपर्ने प्रण गर्नुपर्दछ । जनताले हामीलाई पत्याएका पनि हुन् । २०७४ सालको चुनावमा हामीलाई अवसर दिएका पनि हुन् । त्यो अवसरलाई हामीले वास्तवमा सदुपयोग गर्न सकेको भए हामी सबै एकैठाउँमा गोलबन्ध हुने थियौँ । ठूलो भनिएका तत्कालीन नेकपा (एमाले), त्यसपछि नेकपा (माओवादी केन्द्र) यी दुईवटै पार्टी एकताबद्ध भइसकेको थियो । दुईवटै पार्टी एक भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थापना भइसकेको थियो । त्यो पार्टी अगाडि बढिरहेको थियो । माओवादी केन्द्रसहितको नेकपालाई जनताले झन्डै दुईतिहाइ मत दिएका थिए । त्यो अवसरलाई प्रयोग गर्न सकेको भए, सदुपयोग गर्न सकेको भए, सबैको सामूहिक बुद्धि, ज्ञान, क्षमतालाई राम्ररी परिचालित गर्न सकेको भए कम्युनिस्ट पार्टीले कहिल्यै पनि दोस्रो बन्ने अवस्था आउने थिएन । समाजमा परिवर्तनको अभियानले गति लिने थियो । हामीले आज समाजमा समस्या नै समस्या देखिराखेका छौँ । शासन प्रणालीमा विकृति र विसंगति देखिरहेका छौँ । भ्रष्टीकरणको प्रवृत्ति देखिरहेका छौँ । गरिबी, अभाव र अनेकौँ किसिमका यातनाले पीडित भएका जनताको क्रन्दन सुनिरहेका छौँ । ती सबै सुन्नुपर्ने अवस्था घट्दैघट्दै जाने थियो । सम्बोधन गर्दै जाने थियौँ । र, यो देशलाई समाजवादको बाटोमा अघि बढाउन सक्ने थियौँ । तर, त्यो अवसर हामीले गुमायौँ । तर, फेरि पनि हरेस खानुपर्ने आवश्यकता छैन । हाम्रो पार्टीले वाम–समाजवादी शक्तिहरूसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ । र, म धन्यवाद दिन चाहन्छु– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डलाई, सम्मानीय प्रधानमन्त्रीलाई । उहाँले पनि यो समाजवादी मोर्चाको काम छिटो हामी गरौँ भनेर बारम्बार ताकेता गर्दै हुनुहुन्छ । र, छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामु घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौँ । त्यसका निम्ति हामी अरू समूहहरूसँग पनि कुरा गर्दैगर्दै जानेछौँ । सहभागी हुन चाहनेहरूलाई समाजवादी मोर्चामा आबद्ध गरिनेछ । अझै त्योभन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरू पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुनसक्छौँ । किनभने, हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धड्किरहेको छ । कम्युनिस्टहरू मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ । त्यो दिन पनि टाढा छैन । त्यसो हुनाले हामीले हरेस खानुपर्ने आवश्यकता छैन । र, म यही पनि उपस्थित हुन भएको छ –नेकपा मसालका नेता । उहाँलाई भन्न चाहन्छु– सोच्नुस्, विचार गर्नुस् । यही भन्न चाहन्छु– कमरेड चन्द्रदेव जोशीलाई । उहाँले त सकारात्मक ढंगल सोची पनि रहनुभएको छ । कुरा पनि भएको छ । अहिले पनि चुनौतीहरू छन । कम्युनिस्ट पार्टीहरूभित्रै पनि व्यक्तिवाद छ । इमानदार, कम्युनिस्ट आन्दोलनप्रति प्रतिबद्ध भएर अगाडि जुट्नुपर्नेछ । नसकिने केही पनि छैन । समाजका सबै समस्याहरू हल गर्न सकिन्छ । महिलाले, दलितले, जनजातिले, पिछडिएका क्षेत्रले, समुदाय, यी सबैले भोगेका पीर र मर्कालाई अरू कसैले हल गर्न सक्दैन । नेपालको राजनीतिको तस्बिर हेर्नुस्, विभिन्न पार्टीहरूतिर यसो नजर घुमाउनुस्, तपाईंलाई आशा दिने शक्ति एउटै मात्रै छ, त्यो हो कम्युनिस्ट पार्टी । कम्युनिस्ट आन्दोलन । त्यसो हुनाले समाजवादको दिशामा अघि बढाएर लैजानका लागि कम्युनिस्टहरू एकताबद्ध हुन आह्वान गर्दछु ।
प्रतिक्रिया