काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको न्यायका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
गृह मन्त्रालयमा आज पत्रकारसँगको परिचयात्मक भेटघाटका क्रममा गृहमन्त्री श्रेष्ठले पीडितको न्यायका लागि सरकार गम्भीर रहेको र केही काम सुरु पनि गरिसकिएको बताएका हुन् । उनले पीडितको नाममा फाइदा उठाउनेप्रति सजग हुन पनि आग्रह गरे ।
मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आवश्यक कानून संशोधनको प्रक्रियामा गइसकेको र आयोगले काम थालिसकेकाले जसरी पनि पीडितलाई मिटरब्याजीको शोषणबाट अन्त्य गरेरै छाड्ने उनले विश्वास दिलाए ।
गृहमन्त्री श्रेष्ठले हिजो मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपका विषयमा अध्ययन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन गरिसकेको र घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी पनि गराए । उनले समग्र गृह प्रशासन सुधारका लागि विशेष कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया