२९ प्रतिशतले घट्यो निर्यात, व्यापार घाटामा भने सुधार

२९ प्रतिशतले घट्यो निर्यात, व्यापार घाटामा भने सुधार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना (साउन फागुन) १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.१ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७.५ प्रतिशत र चीनतर्फ ४.९ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात ६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा निर्यातसँगै विदेशी वस्तुको आयातमा समेत कमी आएको छ । गत आवको तुलनामा आयात १९.१ प्रतिशतले घटेर रु १० खर्ब ५८ अर्ब ३९ करोडमा सीमित भएको छ ।

अवधिमा भारतमा १७.६ प्रतिशत र चीनमा २१.७ प्रतिशतले आयातमा कमी आएको हो । यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, सुन, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको हो ।

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट कमी आएको उल्लेख छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई रु ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत थियो।

Recent Comments

No comments to show.