काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।
“दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ
प्रतिक्रिया