इङ्वाखोला जलविद्युतले जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने

इङ्वाखोला जलविद्युतले जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर । आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भइरहेको छ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी छ ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) बमोजिम जेठ १ गतेभित्र उत्पादन थाल्न आयोजनाको निर्माण कार्यलाई द्रुत बनाइएको छ । हालसम्म आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको आयोजना प्रबन्धक उमेश नेपालले जानकारी दिए । ९.७ मेगावाट क्षमताको यस आयोजनाले हिँउदको समयमा भने कुल क्षमताको करिब ३० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्नेछ ।

पाँचथर र ताप्लेजुङको सीमा भई बग्ने इङ्वाखोला (इन्द्रावती)मा आयोजना निर्माणाधीन छ । इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो । २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो ।

यहाँ उत्पादित विद्युत् काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । “पाइपलाइन र केही प्राविधिक काम बाँकी छन्”, आयोजना प्रबन्धक नेपालले भने, “निर्धारित अवधिमा निर्माण कार्य सक्नेछौ ।”

आयोजनाको बाँध (हेडवर्क्स) पाँचथरको याङवरक गाउँपालिका–२ सेरेजामा छ । आयोजनामा सुरुङमार्ग छैन । ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइपलाइन र २७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक–३ ओयामको आँपडाँडामा रहेको पावरहाउससम्म ल्याउन लागिएको हो । बाँध र पावरहाउसबीचको उचाइ १८१.२५ मिटर रहेको आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

फलामको मूल्य बढेका कारण आयोजनाको लागत सुरुङमार्गको जस्तै बनेको प्रवद्र्धकको भनाइ छ । रु एक अर्ब ९५ करोडको लागतमा निर्माण हुन लागेको आयोजनामा प्रबद्र्धकको ३० प्रतिशत लगानी छ । बाँकी ७० प्रतिशत लगानी बैङ्क अफ काठमाण्डू (मर्जरपछि हाल ग्लोबल आइएमई बैङ्क)को छ । याङवरक गाउँपालिकामै काबेली बी–१ आयोजना निर्माण सम्पन्न भइसकेको छ भने काबेली बी–१ क्यासकेट आयोजना निर्माणाधीन अवस्थामा छ ।रासस

Recent Comments

No comments to show.