काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याइने प्रयासमा सरकार लागिरहेको बताएका छन्।
कोभिड १९ खोप, नियमित खोप तथा दादुरी–रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले आयोजना गरेको राष्ट्रिय समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। ‘स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन्। गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन्। एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ,’ उनले भने।
मन्त्री गिरीले सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताए।
‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउनेगरी हामी भविष्यमा आउँछौं,’ उनले भने। मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। ‘खोपका सन्दर्भमा आम जनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुपर्यो। ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधि साथीहरुलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ,’ उनले भने, ‘प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन।’
हरेक बच्चाको अभिलेख डिजिटल प्रणालीभित्र राख्नुपर्ने उनले बताए। ‘जन्मेको बच्चाको अभिलेख अस्पतालमा हुने भइहाल्यो। तर, अझै पनि गाउँघरमै सुत्केरी गराउने चलन पनि छ। जसकारण, बच्चाहरु खोप लगाउन छुटेको अवस्था छ। नेपालमा हरेक बच्चा जन्मेको सूचना स्वास्थ्य प्रणालीमा हुनुपर्यो,’ उनले भने, ‘ऋण तिरेन भने बैंकले बारम्बार फोन गर्छ। किनकी, त्यहाँ डिजिटल प्रणालीमा सबै अभिलेख हुन्छ। पहिलो खोप लगाएको एउटा बच्चाले दोस्रो खोप लगाएन भने तपाईको बच्चा किन आएन भनेर अभिभावकलाई फोन गर्न के गाह्रो छ?’
उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा संघ–संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताए। ‘स्थानीय तह २० वर्षसम्म कर्मचारीले चलाएको अवस्था थियो। अहिले त जनप्रतिनिधि छन्। नगर-गाउँसभा बस्छ। खोपको एजेन्डा पनि त्यहाँ राख्न लगाउनुस् न,’ सरोकारवालाहरुलाई उनले भने, ‘हाम्रा समूहहरु छन्, युवा समूह, विभिन्न संघ संस्था छन्। त्यहाँ समन्वय र छलफल गर्ने गरौं, मुलकलाई पूर्ण खोपयुक्त बनाउन लागौं। खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए।
प्रतिक्रिया