काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन्।
उनले सहिद दिवसका अवसरमा सोमबार एक सन्देश जारी गर्दै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी हुन्। राष्ट्रपति भण्डारीले देश र जनताका लागि प्राण आहुति दिने महान् सहीदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी हुन् ।
उनले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने पनि बताएकी छन् ।
‘हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदले गरेको बलिदानको प्रतिफल हो’, उनको सन्देशमा उल्लेख छ, ‘तसर्थ सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।’
राष्ट्रपति भण्डारीले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन्।
प्रतिक्रिया