प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

मतदानका क्रममा २६८ जना सांसद उपस्थित थिए। उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । एक जना सांसद भने तटस्थ रहे । सभामुख बनेका घिमिरे प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा -२ बाट निर्वाचित भएका हुन् ।

सत्तारूढ दलहरूको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका थिए ।

उनको समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन बसेका थिए ।

सभामुख पदका लागि एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरूले पनि आकांक्षा देखाएका थिए।

पार्टीभित्र योगदान पनि भएको, क्षमता पनि भएको र दलित तथा आदिवासी जनजाति समुदायबाट सभामुख बनाउँदा सन्देशका हिसाबले पनि राम्रो सन्देश जाने हुनाले त्यस लाइनबाट पनि कतिपय एमालेका नेताले गुरुङलाई अगाडि सारेका थिए भने कतिपय नेताले विश्वकर्मालाई अगाडि सारेका थिए।

तर‚ अध्यक्ष ओली भने पुराना नेता भएको र आफ्नो विश्वास पात्र पनि भएकाले गृहजिल्लाका घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने पक्षमा थिए।

घिमिरे ०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए ।

०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।

Recent Comments

No comments to show.