काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागबाट काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरूवा भएका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिवेश लोहोनीले पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने गरी गृह मन्त्रालयले बुधवार उनलाई काज सरुवा गरेको थियो ।
विहीवार एक कार्यक्रमको बीच उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।
२०७९ कार्तिक २४ मा रवीन्द्र बहादुर धानुकले अवकाश पाएसँगै उपत्यका प्रहरी कार्यालयमा एआईजीको पद रिक्त छ । एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएको छ । नेपाल प्रहरीमा अहिले ४ वटा एआईजीको दरबन्दी रिक्त छ । गृह मन्त्रालयले एआईजीको बढुवा गर्ने तयारी गरिरहेको छ । बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया