रुपन्देही ४ मा मर्चवारकाे विरासत जोगाउन प्रतिस्पर्धा, लोसपाका शुक्लभन्दा कांग्रेसका यादव बलियो

रुपन्देही ४ मा मर्चवारकाे विरासत जोगाउन प्रतिस्पर्धा, लोसपाका शुक्लभन्दा कांग्रेसका यादव बलियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार विकासको दृष्टिले जिल्लाका अन्य क्षेत्रभन्दा पिछडिएको छ । मुलुकका हरेक निर्वाचनका समयमा रुपन्देहीकाे क्षेत्र नं. ४ मा राजनीतिक दल र उम्मेदवारको मुख्य एजेन्डा नै मर्चवारको विकास हुने गरेको छ । तर अपेक्षाकृत विकास हुन सकेको छैन । मर्चवारसमेत रहेको रुपन्देही ४ मा अहिलेसम्म कुनैपनि जनप्रतिनिधि दोहोरिएर निर्वाचित भएका छैनन् ।

यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल, नेपाली कांग्रेसको तर्फबाट निवर्तमान सांसद प्रमोद यादव, नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादव ‘गुल्जारी’, जनता समाजवादीका पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव लगायत चुनावी मैदानमा छन ।

२०७४ को आमनिर्वाचनमा दुईपटक सांसद र आठपटक विभिन्न मन्त्रालय सम्हालेका शुक्ल र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका यादवबीच प्रतिस्पर्धा हुँदा ३१ हजार सात सय १८ मत प्राप्त गरी यादव विजयी भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका शुक्लले २० हजार ४१६ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा प्रदेशसभा सदस्यमा पनि कांग्रेसले दुवै सिटमा विजयी निकालेको थियो । अहिले पनि यिनै दुई उम्मेदवारहरुबीच प्रतिस्प्रर्धा देखिएको छ । दुवै उम्मेदवार मर्चवारमा आफ्नो विरासत जोगाउने लडाइँमा छन ।

लोसपाका वरिष्ठ नेता शुक्ल गत निर्वाचनमा पराजित भएपनि यसपटक भने विजयी हुने प्रयासमा छन । याेपटककाे चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् । यता नेपाली कांग्रेसका तर्फबाट यस पटक पनि उम्मेदवार बनेका यादव दोस्रो पटक पनि जित्ने प्रयासमा लागेका छन । यस क्षेत्रका मतदाताको मनाेविज्ञान र तथ्यांक हेर्दा त्यहाँ लोसपा र कांग्रेसकै बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

गत निर्वाचनमा सहज विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार यादव अहिले पनि आफ्नो जित निश्चित रहेको बताउछन । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रमोदकुमार यादवले ३० वर्षमा हुन नसकेको विकास आफ्नो कार्यकालमा गरेको दाबी गर्छन । “मैले मर्चवारको शिक्षा, स्वास्थ्य, कृषिसँगै भौतक पूर्वाधारमा अहिलेसम्म हुन नसकेको विकास गरेको छु”, उनले भने, “काम गर्ने समय डेढ वर्ष मात्र पाएँ, कोभिड र अन्य राजनैतिक खिचातानीका कारण अरू काम गर्ने अवसर नै पाइनँ ।” उनले मर्चवारको समग्र विकास नै आफ्नो मुख्य एजेन्डा रहेको बताए । “मर्चवारको समस्या बुझ्न भुइँ स्तरको मानिस चाहिन्छ,” यादव भन्छन, “मैले जनताको समस्या बुझेको छु, समग्र क्षेत्रको विकासका लागि प्रतिबद्ध छु ।”

मर्चवार क्षेत्रको विकासलाई नै शुक्लले पनि आफ्नो मुख्य एजेन्डा बनाएका छन । उनले अहिलेसम्म मर्चवारमा विकास नभएको बताए । “५ वर्षको समयमा मर्चवारमा केही परिवर्तन आएको छैन, मैले छोडेका मर्चवार नै अहिले छ”, शुक्लले भने, “विद्युत् र सिँचाइमा मैले जे सुरु गरेको थिए अहिले पनि सोही अवस्थामा रहेको छ ।” अन्य स्थानमा नेपाली कांग्रेस र लोसपाबीच गठबन्धन छ । तर रुपन्देही ४ मा मित्रवत् प्रतिस्पर्धा भन्दै दुवै दल तीव्र प्रचारप्रसारमा रहेका छन् । मर्चवारको गत प्रतिनिधिसभाको निर्वाचन तथा २०७९ मै सम्पन्न भएको स्थानीय तहको निर्वाचन हेर्दा तुलनात्मक रुपमा नेपाली कांग्रेस केही बलियो देखिएको छ । यद्यपि मतदाता अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।

यस क्षेत्रको सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिकाका सबै वडा, मायादेवी गाउँपालिकाको २, ३, ४, ५, ६ सियारी गाउँपालिका–४ र ५ तथा लुम्बिनी सांस्कृतिक नगरपालिका-२, १२ र १३ गरी जम्मा ३१ वटा वडा रहेका छन् । स्थानीय तहको निर्वाचनमा ३१ वडाहरुमध्ये नेपाली कांग्रेसले १०, लोसपाले १०, जसपाले तीन, एमाले तीन, जनता प्रगतिशील पार्टी दुई, जनमत एक, माओवादी केन्द्र दुई र नेपाल जनता पार्टी एकवटा वडा विजयी भएका छन् ।

१०/१० वटा वडा जितेका कांग्रेस र लोसपाले अन्य दलका मत तान्ने प्रयासमा रहेका छन् । जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धन रहेको छ । दुवैले पाँचवटा वडा जितेका छन् । जनता प्रगतिशील पार्टीले दुईवटा वडा जितेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको कारण माओवादी केन्द्रको दुईवटा वडाको मत पनि यादवलाई नै आउने यादव पक्षको दाबी छ । यसले पनि तुलनात्मक रुपमा लोसपाका शुक्लभन्दा कांग्रेसका यादव केही बलियो बन्ने संम्भावना बढेको छ । तर स्थानीय तह जस्तो संघीय निर्वाचन नहुने भएकाले यो तथ्यांकमा फेरबदल हुन सक्ने आकंलन पनि छ । यस क्षेत्रमा गएकाे निर्वाचनमाभन्दा अहिले मतदाता सङ्ख्या पनि उल्लेख्य रुपमा बढेको छ । नयाँ मतदाताहरुको मनाेविज्ञान अनुसार पनि निर्वाचनको नतिजा प्रभावित हुने देखिन्छ ।

रुपन्देही ४ मा ६२ हजार आठ सय ४७ पुरुष र ४७ हजार आठ सय १२ महिलासहित एक लाख पाँच हजार ६ सय ५९ मतदाता रहेका छन् । यस क्षेत्रमा ४८ वटा मतदानस्थलमा एक सय २८ मतदाता केन्द्रहरु तोकिएका छन् ।

Recent Comments

No comments to show.