काठमाडौं । काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनको ‘अल्टिमेटम’ दिएको छ।
समितिले शुक्रबार सूचना जारी गर्दैै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर–टहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन १० दिन समय दिएको हो।
‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनारमा तोकिएको मापदण्डभित्र अनधिकृत रुपले बनाइएका घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनका कारण नदीको दुबै किनारको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
समितिले उक्त अवधिभित्र नदी किनार खाली गरेको नपाइएमा सकिएको मितिपश्चात् काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायसँगको सहयोगले लिएर भत्काउने बताएको छ। सूचनाअनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनी पनि दिइएको छ।
प्रतिक्रिया