विद्युत् निर्यातका लागि उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण

विद्युत् निर्यातका लागि उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको हो। 

विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउनेछ। साथै, भारत र बंगलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधार निर्माण गरिनेछ। 

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ। सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम रहेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको छ। 

टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत् निर्यातको सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए। 

‘दीर्घकालीन रुपमा भारत र बंगलादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज बिन्दु नजिक पर्ने देखिएको छ। त्यसैले ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्ग आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने। यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्नेछ भने भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने उनले बताए। 

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढीस्थित ४००÷२२० केभी बिनागुढी सबस्टेसन भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो। सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ।  

प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्ने रहेको छ। दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँ पहिचान गर्ने र आन्तरिक रुपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिनेछ। 

प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सबस्टेसन निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो। टोलीले सबस्टेसन भरपर्दो र विश्वसनीय विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण भएकाले जतिसक्दो छिटो सम्पन्न गर्न आग्रह गरेको थियो।

Recent Comments

No comments to show.