काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
गत फेब्रुअरीमा प्रतिब्यारेल १३९ डलर पुगेको कच्चा तेलको मूल्य पछिल्लो एक महिना यता एकसय डलरको हाराहारीमा रहेको छ ।
तिहारअघि प्रतिब्यारेलको मूल्य ९७ डलर रहेकोमा हाल घटेर ९५.७७ डलर कायम रहेको छ । केही समय ओरालो लागेको इन्धनको मूल्य फेरि बढ्नसक्ने आकलन गरिएको छ ।
तेल उत्पादक देशहरूको समूह ओपेकले दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेको छ भने मागमा हुने वृद्धिले इन्धन अभाव हुनसक्ने अन्तर्राष्ट्रिय आपूर्ति संस्थाहरुको भनाइ छ ।
गत जनवरीदेखि जारी रुस युक्रेन युद्धमा विश्वको तेस्रो तेल निर्याता देश रुसमाथि अमेरिका र पश्चिमी मुलुकहरूले आर्थिक नाकाबन्दी र तेल आयातमा प्रतिबन्ध कायमै राखेका छन् ।
इन्धन अभाव र त्यसको मूल्यवृद्धिले दैनिक उपभोग्य तथा खाद्य सामग्रीको मूल्य सोही अनुसार बढेको छ । जसको कारण विशेषगरी इन्धन आयातकर्ता देशहरु समस्यामा परेका छन् ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य निकै तल आइपुगेपनि नेपालमा भने इन्धनको मूल्य घटेको छैन् ।
केही समयदेखि नेपाली बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने थप महँगो भएको छ ।
तर, कच्चा तेलको मूल्य जनवरी यताकै न्यून स्तरमा आएको वर्तमान अवस्थामा आगामी दिनमा देशमा पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने आँकलन गर्न सकिन्छ ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएपनि समग्रमा घाटा कायमै रहेको जनाउँदै तत्काल मूल्य नघटाउने बताउँदै आएको छ ।
प्रतिक्रिया