काठमाडौं । चालु आर्थिक वर्षको ३ महिना (साउन–असोज)मा नेपालमा थप दुई खानेतेल उद्योग दर्ता भएका छन् ।
देशका विभिन्न स्थानमा पाम तेल, सनफ्लावर, सोयाबिन र तोरीको तेल उत्पादन गर्ने कम्पनी दर्ता भएको उद्योगको विभागले जनाएको छ ।
उद्योग विभागका अनुसार ७२ करोड रुपैयाँ लगानीमा दुई नयाँ तेल उद्योग खुल्ने भएका हुन् । ती उद्योग रुपन्देही र पर्सामा खुल्ने भएका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालिको नामको तेल उद्योग खुल्ने भएको छ । २५ करोड रुपैयाँ लगानीमा सञ्चलनमा आउने यस उद्योगले वर्षेनी ३ हजार ३०० किलोलिटर सोयाबिन तेल र २९ हजार किलोलिटर केकमा प्रयोग हुने तेल उत्पादन गर्नेछ ।
यसैगरी, पर्साको लापर्सा गाउँपालिकामा नमस्ते आयल एण्ड रिफाइनरी इण्डष्ट्रिज खुल्ने भएको छ । ४७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यस उद्योगले वर्षेनी ३५ हजार टन पाम आयल, ३५ हजार लिटर सोयाबिन रिफिल्ड तेल र ३५ हजार सनफ्लावरको तेल रिफानिङ गर्नेछ ।
खाने तेलको माग बजारमा बढेसँगै तेल प्रशोधन उद्योगहरु समेत बढ्न थालेका छन् । हाल करिब ३ दर्जन उद्योगले तेल प्रशोधन तथा उत्पादन गर्दै आएका छन् ।
आयात र निर्यात घट्दै
चालु आर्थिक वर्षमा खाने तेलको आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको भदौसम्म १८ अर्ब ५१ करोड रुपैयाँ बराबरको खाने तेल तथा घिउ आयात भएको छ । सो मूल्यमा ९ करोड ४ लाख लिटर खाने तेल तथा घिउ आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २६ अर्ब १० करोड रुपैयाँको खानेतल तथा घिउ आयात भएको थियो । चालु आवमा ९ अर्ब १२ करोड रुपैयाँ बराबरको सोयाबिन तेल, १ करोड ५८ लाख रुपैयाँ बराबरको ओलिभ आयल, ७ अर्ब ३२ करोड रुपैयाँको पाम आयल, २ अर्ब १ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षको २ महिनामा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । सो मूल्यमा ३ करोड ३० लाख लिटर तेल निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो मूल्य बराबर १२ करोड ११ लाख लिटर खाने तेल निर्यात भएको थियो ।
गत आर्थिक वर्षमा कुल ९३ अर्ब ७४ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो मूल्यमा ४१ करोड ६७ लाख लिटर खाने तेल निर्यात भएको थियो ।
प्रतिक्रिया