काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दुइ महिना (साउन र भदौ)मा करिब ८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै मोटर बीमा वापत बीमाशुल्क संकलन गरेका छन भने व्यवसायको हिस्सा बाग्मती प्रदेशमा सबैभन्दा धेरै रहेको छ । मोटर बीमाबाट भदौसम्ममा कम्पनीहरुले २ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ । जुन निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको एकतिहाइ हो ।
कम्पनीहरुले दोस्रोमा सम्पत्ती बीमाबाट १ अर्ब ७६ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कमा इन्जिनियरिङ्ग बीमाको हिस्सा २०.६२, विविध बीमाको १३.२६ , सामुन्द्रिक बीमाको ६.४६ प्रतिशत, कृषि तथा पशुपन्क्षी बीमा ५.०५ र हवाई बीमाको २.५३ प्रतिशत रहेको छ ।
यसैगरी, लघुबीमा बापत कम्पनीहरुले १ करोड ३७ लाख रुपैयाँकुल बीमाशुल्क संकलन गरेका छन् । समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा निर्जीवन बीमा व्यवसायको हिस्सा धेरै रहेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ६५ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
१ नम्बर प्रदेशबाट कम्पनीले संकलन गरेको बीमाशुल्क ६३ करोड ४१ लाख रुपैयाँ रहेको छ भने मधेश प्रदेशमा ५.८३, गण्डकी ५.२५ र सुदूरपश्चिम प्रदेशमा २.०१ प्रतिशत व्यवसायको हिस्सा रहेको छ । कम्पनीहरुले कर्णाली प्रदेशबाट ६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया