नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ  । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण पदक जितेको छ। गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो।

सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेका छन्। महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सञ्जिता राईले स्वर्ण पदक जितेका छन्। 

यस्तै कुमुतेतर्फ ५५ किलो समूहमा विद्याकला राई, ६१ किलो समूहमा कञ्चन नेपाली, ६८ किलोभन्दा माथिको तौल समूहमा मिसडोना राई र ७५ किलो तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन्। सितोरियो करातेमा खोटाङका २९ खेलाडीले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

पौडीमा जिल्लाबाट पहिलोपटक खेलाडी सहभागी गराउन पाएको खोटाङले पहिलोपटक नै दुई स्वर्ण पदक प्राप्त गरेको छ। पौडीमा क्रिस राईले खोटाङलाई फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एकवटा स्वर्ण पदक दिलाएको हो। भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो। शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण पदक जितेका छन्। 

प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन्। स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दीर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विश्वकर्मा तथा प्रविण कटवाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटमा परेका छन्।

यस्तै महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाएका छन्। प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका गरी एक सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने जनाइएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङका १७ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

यसैबीच सितोरियो कराते खोटाङका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे घर भएका कराते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो करातेतर्फको प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो।

प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही रु २५ हजार पाँच सय ५५, रु १५ हजार पाँच सय ५५ र रु ११ हजार एक सय ११ प्रदान गर्ने घोषणा गरेका छन्। सितोरियो कराते खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको प्रवद्र्धनका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगतरूपमा नगद पुरस्कार दिने घोषणा गरेको तामाङले बताए। 

Recent Comments

No comments to show.