काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ३८.१७ प्रतिशतले घटेको छ ।
जीवन बीमातर्फको व्यवसायमा घाटा हुँदा, अन्य खर्च र व्यवस्थापन खर्च बढ्दा कम्पनीको नाफामा गिरावट आएको हो । कम्पनीले गत चैत मसान्तसम्म जीवन र निर्जीवन बीमा व्यवसायबाट ५७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायतर्फ ६० करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ भने जीवन बीमातर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले निर्जीवनतर्फ ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत चैत मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट ६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।
हाल ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल ४ अर्ब ५० करोड रुपैयाँ छ । जसमा निर्जीवनतर्फको जगेडा कोषमा ३ अर्ब ९१ करोड रुपैयाँ र जीवन बीमातर्फ ५९ करोड ५ लाख रुपैयाँ छ ।
कम्पनीको निर्जीवन बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषको विवरण भने वित्तीय विवरणमा उल्लेख छैन ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया