काठमाडौं । सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने ९ कम्पनीलाई कालोसूचीमा राखेको छ । ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ९ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
बालाजु-त्रिशुली र छहरे-विदुर सडक विस्तार आयोजनाको काम गरिरहेको दिनेशचन्द्र आर/नागर्जुन/कोशी एन्ड न्यौपाने जेभीलाई तीन वर्षको लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ। पटकपटक म्याद थप्दा समेत समयमा काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
यसैगरी दाङमा खानेपानी आयोजनाको काम अलपत्र पार्ने शिवराम कन्स्ट्रक्सन कम्पनी/सिद्धगढी इन्जिनियररिङ एन्ड बिल्डर्स जेभीलाई पनि तीन वर्षको लागि कालोसूचीमा राखिएको छ। सो कम्पनीले ५ वटा खानेपानी आयोजनाहरु अलपत्र पारेका छन्। यस्तै अर्को खानेपानी आयोजना अलपत्र पार्ने बिटी/शिवराम जेभीलाई पनि तीन वर्षको लागि कालोसूचीमा राखिएको छ।
सुर्खेतमा गाउँ कार्यपालिकाको भवन निर्माण गर्ने अमन एन्ड इसा कन्स्ट्रक्सन, कञ्चनपुरमा नगर कार्यपालिकाको कार्यालय भवन निर्माण गरिरहेको आकाश एन्ड पवन कन्स्ट्रक्सनलाई सहरी विकास तथा भवन निर्माण विभागको सिफारिसमा एक वर्षको लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।
यस्तै आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंको सिफारिसमा ड्रप सप्लाई एन्ड सर्भिसेज प्रालि, मन्डनदेउपुर काभ्रेपलान्चोकको सिफारिसमा थोकर/निभा/लयुल जेभीलाई र खोटाङमा नगरको कार्यालय भवन निर्माण गरिरहेको रुजन/जगदम्बा/भुवनेश्वरी एन्ड भैभव जेभीलाई अनुगमन कार्यालयले एक वर्षको लागि कालोसूचीमा राखेको छ। कालोसूचीमा राखिएको समयावधिमा कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैन।
प्रतिक्रिया