काठमाडौं । काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूलाई भेटेर १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध खारेज गर्न आग्रह गरेको छ ।
उक्त प्रतिबन्धले अनधिकृत आयात बढेर सरकारको राजस्व गुमेको, हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिइरहेको र रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको भन्दै संघले प्रतिबन्ध खारेज गर्न माग गरेको हो ।
कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र एक सय प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाउन संघले माग गरेको छ । यसले व्यवसायको लागत बढाएको संघको भनाई छ । डिएपी, टिटी जस्ता माध्यमबाट भुक्तानी गर्दा निर्यातकर्ताले एलसीको भुक्तानीमा भन्दा बढी छुटमा मालसामान तथा वस्तु उपलब्ध गराउने हुँदा त्यस्ता माध्यमबाट भुक्तानी गर्न दिनुपर्ने संघको माग छ । यसो गर्दा थोरै मात्रामा भए पनि विदेशी मुद्रा पलायन रोक्न मद्दत पुग्ने संघको भनाइ छ ।
सो अवसरमा संघले उधारो उठाउने ऐन निर्माण र कालोबजारी ऐन संशोधनको आवश्यकता, तेस्रो मुलुकमा निर्मित वस्तु भारतबाट आयात गर्न दिनुपर्ने लगायत विषय उठाएको थियो ।
मन्त्री बडूले आयातमा लागेको प्रतिबन्धको अवधि अरु नथप्ने विषयमा आफू सकारात्मक रहेको र संघले उठाएका विषयमा उपयुक्त कदम चालिने बताए । प्रतिनिधिमण्डलमा संघका अध्यक्ष सुनिल वंशल, उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, कोषाध्यक्ष, कुमार कार्की तथा कार्यसमिति सदस्यद्वय आकाश गोल्छा र प्रभात सर्राफ थिए ।
प्रतिक्रिया