ल्याण्डफिल साइट लैजान नसकेपछि टेकुमा थुपारिएको फोहोरमा जीवाणु हालेर छोपियो

ल्याण्डफिल साइट लैजान नसकेपछि टेकुमा थुपारिएको फोहोरमा जीवाणु हालेर छोपियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर्मर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवाणु राखेर प्लाष्टिकले छोपेको छ ।

बर्षात्ले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि टेकुमै फोहोरलाई व्यवस्थित तरिकाले थुपारिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनीयर सुनिल लम्सालका अनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवाणु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ ।

‘अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । आज घाम लागेको छ । यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र साइटमा फोहोरको मात्रा घटाउनेछौँ,’ इञ्जिनियर लम्सालले भने ।

ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ ।

यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

Recent Comments

No comments to show.