काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत घटाउन दश सुझाव उल्लेख गर्दै सरकारलाई पत्राचार गरेको छ ।
निगमले सोमवार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन विक्रीमा कोटा तोक्न १० बुँदे सुझाव सुझावसहित सरकारलाई पत्राचार गरेको हो ।
घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।
त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ ।
छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने तथा ढुवानी कार्यमा प्रयोग हुने मालबाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलााउने, मोटरसाइकल, कार सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निगमले सरकारलाई प्रस्ताव गरेको छ ।
ठूला उद्योग, परियोजना, होटल, आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्न प्रस्ताव गरेको छ।
खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने प्रस्तावमा उल्लेख छ ।
यस्ता छन् १० सुझाव :
१. सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने ।
२. देशका प्रमुख सहरहरूमा प्रत्येक शनिवार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।
३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।
४. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरू र राष्ट्रिय राजमार्गहरूमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।
५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक–पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र इन्धन बिक्री गर्ने ।
६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।
७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने ।
८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन
गर्ने व्यवस्था मिलाउने ।
९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने ।
१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने ।
प्रतिक्रिया