काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर पहिलो हप्तासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ ।
मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर पहिलो हप्तासम्म गर्ने गरेर आन्तरिक तयारी थालेको जानकारी दिएका हुन् । आयोगले निर्वाचन कानुनअनुसार दिएको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि उनले स्पष्ट पारे ।
उनले आयोग एकै चरणमा चुनाव हुनुपर्छ भन्नेमा रहेको समेत बताए । यस्तै आयोगले सङ्घीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने भएको छ ।
प्रवक्ता पौडेलले असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिदैं अहिले अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख बताए ।
यस्तै मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन पनि सकिनेछ ।
प्रतिक्रिया