काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।
मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् ।
उनले भने, ‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसलाई छोडेको खण्डमा ठिकै छ । नत्र कांग्रेसले जबरजस्ती गर्दैन ।’ अहिले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे छन् ।
कार्यक्रममा बोल्दै बानियाँले पार्टी र पार्टीभित्रका व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोर्नुपरेको बताए ।
उनले भने, ‘पार्टी र व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोरेको हो । कांग्रेसले नराम्रो काम गरेन । हल्लाको पछाडी जनता लाग्दैनन् भन्ने जनताले देखाइदिएका छन् ।’
पार्टीको सिद्धान्त, नीति र नेताको आदर्शले चुनाव जितिने बताउँदै बानियाँले धेरै तडक भडक गरेर भिड बोकेर हिँड्नु गलत भएको बताएका हुन् । उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन हुने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रतिनिधिहरूले जितेको ठाउँमा प्रदेशसभा र प्रतिनिधीसभामा जितेन भने अहिले जितेका जनप्रतिनिधिहरूप्रति प्रश्न खडा हुने बानियाँले बताए ।
अहिले जितेका जनप्रतिनिधिहरूलाई अबको ५ वर्षपछिको निर्वाचनमा आवश्यक परे अरुलाई अवसर दिन सक्नुपर्ने उनले बताए ।
प्रतिक्रिया