काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ।
सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै सेयर बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने नयाँ निर्णय भएको हो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो।
यस अघि पुरानै व्यवस्था अनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भएपनि नयाँ निर्णय अनुसार शुक्रबार दुई घण्टालाई भएपनि बजार खुल्ने भएको हो।
लगानीकर्ताहरू शुक्रबारको कारोबारमा समेत अभ्यस्त भइसकेको र पछिल्लो समय सेयर कारोबारको राफसाफ लगायतका कामहरू प्रविधिको प्रयोगले हुन थालेसँगै यस्तो निर्णय गरिएको बुझिएको छ।
गत जेठ १ गतेदेखि सरकारले परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो। उक्त निर्णय गत जेठ २४ गते फिर्ता लिइएको छ।
प्रतिक्रिया