युद्धमा किन जान मानिरहेका छैनन् रुसी सैनिकहरू ?

युद्धमा किन जान मानिरहेका छैनन् रुसी सैनिकहरू ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही रुसी सैनिकले युक्रेन युद्धको अग्रपंक्तिमा रहेर लड्न अस्वीकार गरेका छन्। रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले फेरि मोर्चामा सहभागी हुन अस्वीकार गरेको बीबीसीले जनाएको छ।

बीबीसीले एक सैनिकसँग यसबारे कुराकानी गरेको जनाएको छ। ‘म युक्रेन फर्केर मार्न र मारिन चाहन्नँ,’ पाँच हप्ता युक्रेनमा लडाइँ गरेका एक सैनिकको भनाइ उदृत गर्दै बीबीसीले भनेको छ।

हाल उनी रुसस्थित घरमा छन् र पुनः परिचालन हुनबाट जोगिन कानुनी सल्लाह खोजिरहेका छन्। त्यस्तो उपाय खोजिरहेको ठानिएका सयौँ रुसी सैनिकमध्ये उनी एक हुन्। युद्ध अनुभवबाट आफू आघातमा परेको उनी सुनाउँछन्।

आफूले विश्वको सबैभन्दा उत्कृष्ट सेना आफूहरु रहेको ठानेको भए पनि त्यस्तो नभएको उनले बताए । आफूहरूलाई रातको समयमा हेर्न मद्दत पुर्‍याउने सामग्रीलगायत आधारभूत उपकरणहरू समेत नदिई परिचालन गर्न खोजिएको उनले सुनाए।

रुसमा १८-२७ वर्ष वर्ष उमेर समूहका अधिकांश रुसी पुरुषहरुले अनिवार्य सेवा अन्तर्गत भर्ती हुनुपर्छ र एक वर्ष यस्तो सेवा पूरा गर्नुपर्छ। तर सेनामा प्रवेश गरेको केही महिनापछि उनले तलब पाउने गरी दुई वर्षको व्यावसायिक सम्झौतामा हस्ताक्षर गरे।

त्यसको ठिक एक महिना पछि अर्थात् २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्‍यो। त्यसपछि उनलाई सीमा काटेर जान निर्देशन दिइयो। लगत्तै उनको एकाइले नै आक्रमणको सामना गर्नुपर्‍यो। आक्रमण भएको साँझ एउटा बाँझो खेतमा रहँदा उनीहरूलाई नेतृत्वकर्ताले भने ‘सायद तिमीहरूले अहिलेसम्म ठम्याइ सक्यौ होला, यो कुनै मजाक होइन।’

उनी आफू पूर्ण रूपमा स्तब्ध भएको सुनाउँछन्। उनीहरू हिँड्दा वा कतै बास बस्दासमेत लगातार गोलाबारी भयो। उनी रहेको एकाइका ५० जनामध्ये १० जनाको मृत्यु भएको थियो र १० जना घाइते भएका थिए। उनका प्राय: सबै २५ वर्षभन्दा कम उमेरका थिए।

जलिरहेको गाडीभित्र फसेका साथीहरूलाई त्यहीँ छोडेर हिँड्नु परेको घटनाले आफूमा आघात परेको बताए।

Recent Comments

No comments to show.