काठमाडौं । २०७९ सालको वैशाख १२ गतेसम्ममा मुलुकमा भएका प्राकृतिक विपदका घटनाबाट १२ जनाको ज्यान गएको छ भने २३ करोडभन्दा बढीको क्षति भएको छ।
वैशाख १ देखि १२ गते सोमबारसम्ममा विभिन्न विपदका घटनाबाट २३ करोड २४ लाख ८९ हजार एक सय रुपैंयाको क्षति भएको राष्टिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणको विवरण अनुसार सबैभन्दा बढी आगलागीबाट क्षति भएको छ। १ सय ५५ वटा आगलागीका घटनाबाट २२ करोड ३१ लाख ५४ हजार र जंगल आगलागीको २४ वटा घटनाबाट ८६ लाख ९० हजार रुपैंया बराबरको क्षति भएको छ।
पछिल्लो २४ घण्टामा मात्रै २३ आगलागीका घटनाबाट १४ करोड ८९ लाख ५४ हजार बराबरको क्षति भएको प्राधिकरणको तथ्यांक छ। आगलागीका घटनाबाट २ सय २२ घरपरिवार प्रभावित भएका छन् भने ६ जनाको मृत्यु र २५ घाइते भएका प्राधिकरणले जनाएको छ।
यहि अवधिमा १३ वटा चट्याङका घटनाबाट ४ जनाको मृत्यु भएको छ। पहिरो, हावाहुरीमा परी एक-एक जनाको मृत्यु भएको छ। विपद्का घटनाबाट १२ दिनमा १२ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका छन्।
प्रतिक्रिया