काठमाडौं । एकीकृत समाजवादी पार्टीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् ।
उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन पठाएको भन्दै कास्कीमा एससँग गठबन्धन नगर्ने बताएका हुन् । गठवन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो ।
जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि एसको अस्वाभाविक दाबीका कारणले निष्कर्ष निस्कन नसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरूसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।
सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगर पालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
कांग्रेसले पोखराको मेयर आफैंले पाउनुपर्ने अडान राख्दै आएको छ । यसकै लागि जिल्ला नेतृत्वले केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरेर फर्किएका छन् ।
प्रतिक्रिया