काठमाडौँ । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटले सम्झौताअनुसार चलेको खड्का ल्याण्डलाई खेद्न खोजेको बताएको छ ।
खड्का ल्याण्डका प्रशासकीय अधिकृत भाष्कर कार्कीले बुधबार साँझ एक विज्ञप्ती जारी गरी बुधबार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ‘सार्वजनिक जग्गामा पूर्वराज्यमन्त्री दिपक खड्काको रजाईँ’ शीर्षकको समचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
पूर्वराज्यमन्त्री खड्काले नेपाल सरकारको स्वामित्वमा काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा रहेको नेपाल स्काउटको व्यवसायिक भवन आफ्नो कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबिच टेण्डरमार्फत सम्झौता भई सञ्चालन गर्दै आएको विज्ञप्तीमार्फत उहाँले अवगत गराउनुभएको छ ।
“यस कम्पनीका अध्यक्ष खड्काको बढ्दो राजनीतिक उचाईलाई प्रहार गर्न र आफ्नो व्यक्तिगत स्वार्थका लागि स्काउटकै जिम्मेवार तहमा बसेका व्यक्तिले व्यवसायीक वातावरण विगार्न लागेको हाम्रो ठहर छ । खड्का ल्याण्ड प्रालिले सम्झौताअनुसार नेपाल स्काउटलाई तिर्नुपर्ने रकम तिर्न बाँकी नरहेको स्पष्ट पार्न चाहन्छौँ,”– खड्का ल्याण्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
अधिकृत कार्कीले संखुवासभामा काँग्रेस नेता खड्काको बढ्दो लोकप्रियता देखेर तत्कालिन समयमा नेकपा एमाले बनेर राजनीतिक नियुक्ति खाएका संखुवासभाकै व्यक्ति लोकबहादुर भण्डारीले जिल्लाका अन्य विपक्षी नेताहरुको साँठगाँठ र उत्साहटमा लागेर पवित्र संस्था स्काउटमार्फत राजनीतिक पूर्वाग्रह साँधेको बताउनुभएको छ ।
“विस २०७४ सालमा ६ महिनाभित्रमा निर्वाचन गरी निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी तदर्थ समितिको संयोजकमा नियुक्त भएका भण्डारीले निर्वाचन पनि गराउन सकेका छैनन् भने पदपनि छाडेका छैनन्, विगत पाँच वर्षदेखि तदर्थ समितिको संयोजक बनेर स्काउटको चरम दोहन गर्नमै व्यस्त छन्,”– विज्ञप्तीमा भनिएको छ ।
फागुन १० गते स्काउटमा पत्रकार सम्मेलन गरी खड्का ल्याण्डको सक्रियतामा केन्द्रीय कार्यालयमा तोडफोड गरेको आरोप लगाएका स्काउट नेतृत्वले विभिन्न सञ्चार माध्यामको प्रयोग गरी सम्झौताअनुसार चलेको खड्का ल्याण्डलाई खेद्ने प्रयास गरिरहेको बतार्ईएको छ । उक्त तोडफोडमा आफ्नो कार्यालयको कुनै संलग्नता नभएको खड्का ल्याण्डले प्रष्ट पारेको छ ।
निश्चित समयका लागि खड्का ल्याण्ड प्रालिले सम्झौता गरेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएपनि नेपाल स्काउटको वर्तमान नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि खड्का ल्याण्डले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पु¥याउँदै आएको अधिकृत कार्कीले बताउनुभयो ।
खड्का ल्याण्डले स्काउटले सम्झौताविपरीत खड्का ल्याण्डको कार्यालय र आफूले बनाएको व्यवसायिक संरचनामा वर्षोँदेखि विजुली, पानी, ढल काट्ने, पार्किङ नदिने, मुख्य ढोकामा तालाबन्दी गर्ने तथा संरचना भत्काउने जस्ता अमानवीय कार्यहरु गर्न थालेपछि आफुहरु आजित भएर कानूनको ढोकामा पुगेको स्पष्ट पारेको छ ।
त्यसै सन्दर्भमा सम्मानित काठमाडौँ जिल्ला अदालतले निजहरुले गरेका हर्कतलाई रोक्न र सम्झौताबमोजिम निरन्तर काम गर्न दिनु भनी फैसलामार्फत आदेश दिएसँगै सम्मानित अदालतको आदेशको अवज्ञा गर्ने एवम् विधिको शासन नमान्नेजस्ता कार्यहरुलाई अझपनि निरन्तरता दिँदै आएको खड्का ल्याण्डले बताएको छ ।
“यसै सन्दर्भमा हाल उच्च अदालतमा यसै विषयमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । हालै गरिएका सम्पूर्ण कार्यहरु उक्त उच्च अदालतको मुद्दालाई प्रभाव पार्नेगरी स्काउट नेतृत्वले खड्का ल्याण्डलाई कमजोर पार्ने उदेश्यले विभिन्न सञ्चारमाध्याम मार्फत हामी विरुद्ध लागेको स्पष्ट देखिन्छ,”– विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमार्फत खड्का ल्याण्डले विगत तीन वर्षदेखि स्काउटको डिडिसीतर्फको भवनका दर्जनौँ सटर भाडामा लगाउन नसकेर राज्यलाई करोडौँ नोक्सान पारेका स्काउटका संयोजक लोकबहादुर भण्डारी र निर्देशक रामप्रसाद भट्टराईलगायतले आर्थिक चलखेल गरी आफूलाई उक्त ठाउँबाट हटाउने दुष्प्रयास गरिरहेको बताएको छ ।
स्काउटका संयोजक भण्डारी एवं निर्देशक भट्टराई विभिन्न प्रलोभन र कमाउ धन्दामा संलग्न रहेको हुनसक्ने भएकाले व्यवसायिक वातवरण विगार्ने खेलमा लागेको खड्का ल्याण्डले बताएको छ । “हिजोको दिनदेखि नै स्काउट वर्तमान नेतृत्वले सुरक्षित व्यवसायिक वातवरण विथोल्ने र स्काउट जस्तो पवित्र सामाजिक संस्थाको छवी नै धमिल्याउँदै छन्। यस्तै, नेकपा एमालेका कार्यकर्तालाई स्काउटको विभिन्न जिल्ला तथा स्थानीय तहको संयोजक बनाएर स्काउटलाई राजनीतिक भर्तिकेन्द्र बनाईँदैछ,”– विज्ञप्तीमा भनिएको छ ।
खड्का ल्याण्डले आफ्नो सम्झौताअनुसार व्यापार व्यवसाय निर्वाध ढंगले सञ्चालन गर्ने र राज्यलाई नोक्सान हुने कार्य आफूबाट कहिलेपनि नहुने प्रष्ट पारेको छ । यस्तै स्काउटलाई सामाजिक सेवाको क्षेत्र बनाउनका लागि देशभरका स्काउटलाई खड्का ल्याण्डले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया