काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवाको एमसिसी अगाडि बढाउने अडानले अहिले गठबन्धनमै खटपट भइरहेको छ।
गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र एमसिसी यथास्थितिमा पारित गर्न हुँदैन भन्नेमा कठोर अडान लिइरहेको छ।
तर, देउवाले अहिले एमसिसी संसदमा पेश गरे पनि सरकार छाड्ने आँट माओवादीले गर्न सकेको छैन। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष नेपालले समेत एमसिसीमा दोहोरो भूमिका खेलेका छन्।
सत्ता गठबन्धनको बैठकमा देउवासँग एमसिसी टेबल गर्न दिने सहमति गरेर सडकमा आफूनिकट भ्रातृ संगठनहरूलाई उतारिरहेका छन्।
गठबन्धनमै सामेल जनता समाजवादी पार्टी (जसपा)ले भने आधिकारिक रुपमा केही भनेको छैन। तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसिसी पास गराउनुपर्ने पक्षमा छन्।
कूटनीतिक रुपमा दबाब परेपछि प्रधानमन्त्री देउवालाई एमसिसी पारित गराउनैपर्ने चुनौती छ। तर, उनले सत्ता गठबन्धनबाटै साथ पाउन सकेको छैनन्। प्रचण्ड-माधवले एमसिसी संसदमा टेबल गर्न दिने सहमति गरे पनि सांसदहरू त्यसका लागि राजी भएनन्। आइतबारको बैठकमा एमसिसी टेबल गर्दैगर्दा गठबन्धनकै सांसदहरूले उठेर विरोध जनाए।
प्रतिक्रिया