काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि प्रक्रिया सुरु हुँदैछ । आजको बन्दसत्र १० बजे सुरू हुँदैछ ।
आजको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यको नामावली प्रस्तुत गर्नेछन् । शनिबार बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ ।
यद्यपी, ओलीलाई सर्वाधिकार दिएको भन्दै अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले भने विरोध जनाएका छन् ।
तर, ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने विष्णु रिजालको भनाइ छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आमकार्यकर्ताको भावनाअनुसार हिजोको बन्द सत्रले यसको अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको उनले बताए ।
यता, ओलीले पनि पदाधिकारी र केन्द्रीय कमिटीको सूची भने बनाइसकेका छैनन्। त्यसैले आजको बन्दसत्रको समय पनि सर्नसक्ने आँकलन गरिएको छ । शनिबार पनि पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरू भएको थियो।
प्रतिक्रिया