प्रहरीलाई आरामदायी म्याट्रेस

प्रहरीलाई आरामदायी म्याट्रेस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार शान्ता खत्रीले जागिर खाएको १६ वर्ष लागेको छ । जागिर खाने बेलामा उनले किनेको बिस्तरा जहाँ सरुवा हुन्छ, त्यहीँ लैजाँदै आएकी थिइन् ।

खत्री मात्र नभएर जिप्रकामा रहेका १७३ जना प्रहरीले सरुवासँगै बिस्तरा लैजाने बाध्यता रहेको थियो । बुधबार (आज) देखि भने यो बाध्यता अन्त्य भएको छ । कार्यालयले ‘एक जवान, एक बिस्तरा’ कार्यक्रम ल्याएपछि यहाँका प्रहरीले सुत्नका लागि आरामदायी बिस्तरा पाएका छन् ।

हरेक प्रहरीका लागि एक थान म्याट्रेस खरिद गरिएको छ । बुधबार कार्यालयका जवानदेखि सबै कर्मचारीलाई एक थान म्याट्रेस हस्तान्तरण गरिएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले म्याट्रेस हस्तान्तरण गरेका थिए ।

साना दर्जाका कर्मचारी, खास गरी प्रहरी जवान तथा हवल्दारलाई लाभान्वित हुने गरी म्याट्रेस खरिद गरिएको थियो । प्रहरी कार्यालयमा कतै खाट नहुने, खाट भए पनि बिस्तरा राम्रो नहुने, जसका कारण सुरुमा खाटको व्यवस्था गरी बिस्तरा दिने योजना बनाएको कार्कीले बताए । 

म्याट्रेस पाएपछि चिसो मौसममा पनि प्रहरीहरू आरामदायी तरिकाले सुत्न सक्नेछन् । यस प्रकारका कार्यक्रम यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय इटहरीमा लागू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धर्मराज भण्डारीले बताए । जिप्रका कास्कीमा कार्की र इप्रका इटहरीका भण्डारी प्रमुख हुँदा यो कार्यक्रम लागू भएको थियो ।

प्रहरी सरुवा हुँदा आफूले प्रयोग गरेका बिस्तरा बोकेर लैजानुपर्ने बाध्यता रहेकामा यो कार्यक्रम लागू भएपछि जिल्लामा आउने प्रहरीलाई सहज हुने भए पनि यहाँबाट सरुवा भएर जाने प्रहरीले भने बिस्तरा बोक्नुपर्ने बाध्यता कायम रहेको छ । अन्य युनिटमा भने बजेट नभएका कारण गर्न नसकिएको बताइएको छ । खरिद गरिएको म्याट्रेसको रकम कार्यालयभित्र च्यारिटी गरी उठाइने योजना छ ।

Recent Comments

No comments to show.