बैतडी। भारतको पिथौरागढमा भएको जिप दुर्घटनामा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ। भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा बैतडीको पाटन- ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्राप्त ब्रिग्रेडियर विनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंहको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा मृत्यु भएका जोशी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीमा प्राध्यापनरत थिए।
गाडी विनोदकुमार चन्द आफैँले चलाइरहेका थिए। उनको गाउँ बुगामा आजै कुलपूजा थियो। पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए।
स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ। अवस्थी र जोशी चन्दका कुल पुजारीसमेत थिए। चन्द राति अनिँदो रहेका र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया