काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुवात गरेको छ।
सोमबार भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो। शेख जायद क्रिकेट स्टेडियममा नामिबियाले दिएको ९७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १०० रन बनाएर पुरा गर्याे।
श्रीलंकाका लागि भानुका राजपाक्साले सर्वाधिक ४२ रनको योगदान गरे। त्यस्तै अविस्का फर्नान्डोले ३० रन बनाउँदा कशल परेराले ११ रनको योगदान गरे।
बलिङतर्फ नामिबियाका लागि रुवेन ट्रम्पेलमान, ब्रनार्ड स्होल्जा र जेजे स्मिथले समान एक–एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९६ रन बनाएकाे थियाे।
नामिबियाका लागि कारिग विलियम्सले सर्वाधिक २९ रनको योगदान गरे। त्यस्तै ग्रहार्ड इरास्मुसले २० रन बनाउँदा जेजे स्मिथले १२ रन बनाए। त्यस बाहेकका ब्याट्स्म्यानले दोहोरो रन जोड्न सकेनन्।
बलिङतर्फ श्रीलंकाका लागि महेस थेस्कानले सर्वाधिक तीन विकेट लिए। त्यस्तै लाहिरु कुमार र वानिन्दु हर्शरंगाले समान दुई–दुई विकेट लिए। श्रीलंकाका चामिका करुणारत्ने र दुश्मान्था कामेराले समान एक–एक विकेट लिए।
जीतसँगै प्रतियोगिताको समूह ‘ए’मा रहेको श्रीलंकाले २ अंक जोडेको छ। श्रीलंका तालिकाको शीर्ष स्थानमा छ। उता नामिबियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
प्रतिक्रिया