काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् ।
राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ।
आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ। दसैँमा सुनसान प्रायः बनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन्।
दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन्। कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ। मानिसको चहलपहल र सवारीसाधनको आवतजावत तथा पसल पनि क्रमशः खुल्न थालेको छ।
दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम भने नरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया