काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्रीलाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार ९०० रुपैयाँ जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलवार काठमाडौंको कपनस्थित बालुवाखानीबाट पक्राउ गरेको हो ।
खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमई बैंकको चेक दिएका थिए ।
फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया