काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा आएका कार्यविधि निर्माणसम्बन्धीका काम बढीमा अबको सात दिनभित्र गरिसक्न निर्देशन दिएका छन्। सोमबार मन्त्रालयका उच्चस्तरका कर्मचारीहरूसँग छलफल गर्दै उनले पुराना फाइल ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल ३ दिनभित्र टुंगो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन्।
‘पुराना फाइल ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल ३ दिनभित्र टुंगो लगाउनुस्,’ उनले भने, ‘मन्त्रालयमा फाइल प्राप्त भएर अड्किनु भएन। देश र जनताका पक्षमा हुने काममा मैले जस्तोसुकै पनि सहयोग पनि गर्छु।’
मन्त्री शर्माले आ-आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवलाई निर्देशन दिए। बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रायबाट सम्पादन हुने कार्यमा कुनै ढिलाई नहुने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशिघ्र अघि बढाउने लगायतका निर्णय भएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरुले धेरै नै मेहनत गर्नुपर्ने बताए।
अर्थसचिव मधुकुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए।
केपी ओली सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
प्रतिक्रिया